Friday, June 5, 2020

सुनसरीकोमा संक्रमितको संख्या बढ्दै, हरिनगर क्षेत्रको क्वारेन्टाइनमा थप १२ संक्रमित

 सुनसरी /  सुनसरीको हरिनगर गाउँपालीका क्षेत्रको क्वारेन्टाइनमा बसेका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुने १२ जना पुरुष रहेको र उनीहरूको सबै हरिनगर र भोक्राहा नरसिंह गाउँपालीका क्षेत्रका व्यक्तिहरु भएको सशस्त्र प्रहरीले जनाएको छ ।
हरिनगर गाउँपालीकाको भुटाहा जेनेरल हस्पिटलमा बसेका मध्ये स्वास्थ्यकर्मीको टोलिले केही दिनअघि १९ जनाको स्वाव परिक्षण गरेकोमा १२ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुने व्यक्तिहरु भारतको विभिन्न स्थानबाट आएर क्वारेन्टाइनमा बसेका थिए । उनीहरूलाई थप उपचारको लागि पठाउने तयारी भएको बताइएको छ ।

भिरबाट लडेर १ को मृत्यु

ताप्लेजुङ,जेष्ठ-२३ गते ।
ताप्लेजुङ सिरिजंघा-४ फुन्द्रुवा बस्ने ३६ बर्षीया खड्गीमाया भट्टराईको भिरबाट लडेर मृत्यु भएको छ । हिजो बिहान ०६ बजे घरबाट करिब दुई किलोमिटर निगुरे खेतमुनिको भिरतिर घाँस काट्न भनि गएकी खड्गीमाया दिउसो ३ बजे सम्म घर फर्की नआएपछी आफन्तले खोजी गर्ने क्रममा उनलाई निगुरे खेतमुनिको भिरमा मृत अवस्थामा फेला पारेको भनि ईलाका प्रहरी कार्यालय तेल्लोकमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

नहरमा डुबेर १ को मृत्यु

मोरङ,जेष्ठ-२३ गते ।
मोरङ ग्रामथान-५ सिमरियाका ६० बर्षीय फौदी चौधरीको नहरमा डुबेर मृत्यु भएको छ । हिजो साझँ ०६ बजे घर नजिकै रहेको नहरको छेउमा गाई चराउने क्रममा एक्कासी लड्दा नहरमा डुबेर चौधरीको मृत्यु भएको भनि स्थानीयले ईलाका प्रहरी कार्यालय  हरैचामा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Wednesday, June 3, 2020

गाई काटेको आरोपमा १ जना पक्राउ

मोरङ, जेष्ठ २२ गते ।
मोरङको बिराटनगर महानगरपालिका-१७ का २८ बर्षीय सोहिल मियालाई गाई काटेको आरोपमा पक्राउ गरिएको छ । आज बिहान ७ बजेको समयमा स्थानीय सौरभ मियाको घरमा गाई काटिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले १० केजी मासु सहित मियालाई पक्राउ गरेको हो । घटनामा संग्लग्न रहेका अन्य दुई जना तत्काल फरार रहेकोले खोजतलास भईरहेको तथा पक्राउ परेका मियाको सम्बम्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

आगलागीबाट २ जनाको मृत्यु

सुनसरी, जेष्ठ २२ गते ।
सुनसरीको धरान उप-महानगरपालिका-१५ सिद्धकाली चोकमा रहेको नर बहादुर श्रेष्ठको घरमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ । आज बिहान सवा ८ बजे अचानक आगलागी हुँदा ८७ बर्षीया धनमाया श्रेष्ठ र ५८ बर्षीया सिता श्रेष्ठको आगोले जलेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उक्त आगलागी नेपाल प्रहरी, शशस्त्र प्रहरी र धरान तथा ईटहरीबाट गएको दमकलको सहयोगमा बिहान पौने १० बजे पुर्ण रुपमा नियन्त्रणमा आएको तथा अन्य थप अनुसन्धानका साथै मृतकको कानुनी प्रकृया भईरहेको उक्त कार्यालयले जनाएको छ । बर्षा याम शुरु भए संगै आगलागीका घटना बढीरहेको हुँदा सबैले सचेत भई छिटो आगलागी हुने चिज बस्तुहरुमा बिशेष ध्यान दिनु हुन समेत आम नागरीकहरुमा हार्दिक अनुरोध गरिएको छ ।

Monday, June 1, 2020

हत्याको आरोपमा ३ जना पक्राउ

सुनसरी, जेष्ठ २० गते । 
सुनसरीको ईटहरी उप-महानगरपालिका-२० का २८ बर्षीय रादन राईको हत्याको आरोपमा ईलाका प्रहरी कार्यालय ईटहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङको कानेपोखरी गाउँपालिका-५ का २० बर्षीय प्रज्वल तामाङ, ईटहरी उप-महानगरपालिका-२० का १९ बर्षीय अभिषेक के.सी. (गिरी) र सोही स्थानका २३ बर्षीय अभिषेक पौडेल रहेका छन् । जेष्ठ १८ गते राती करिव सवा ९ बजेको समयमा  छिमेकी खीले भनिने अमित घिमिरेको घरमा प्रतिवादी मध्येका प्रज्वल राई र रादन राई बिच सामन्य बादबिबाद भएको र बादबिबाद पश्चात मृतक राई आफ्नो घर तर्फ फर्कने क्रममा बाटोमा ढुकेर बसेका प्रतिवादीहरुको समुहले बाँसको लाठीले अन्धाधुन्द  कुटपिट गर्नुका साथै धारिलो हतियार छुराले कोखा तथा छातीमा प्रहार गरी घाईते बनाई फरार रहेकोमा घाईतेका अन्य साथीहरुले थाहा पाई घाईतेलाई तत्काल उद्धार गरी उपचारको लागी धरानको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएकोमा  उपचारको क्रममा राती सवा ११ बजे मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगत्तै घटनाको सम्बन्धमा अनुसन्धान तथा फरार प्रतिवादीहरुको खोजतलासमा खटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा ईलाका प्रहरी कार्यालय इटहरीको अनुसन्धान टोलीले जेष्ठ १९ गते साँझ ६ बजे ईटहरी उप-महानगरपालिका-११ बाट तिनै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । 

पत्रकार सहारा उपचार कोषबाट ८० जना पत्रकारको कोरोना उपचार बीमा

बिर्तामोड, जेठ १९ ।
 नेपाल पत्रकार महासंघ झापाद्धारा स्थापित पत्रकार सहारा उपचार कोषका सदस्य ८० जना पत्रकारको कोरोना उपचार बीमा गरिएको छ ।
महासंघले पहिलो चरणमा उपचार कोषमा आवद्ध भएका ८० जना पत्रकारको बीमा गरेको अध्यक्ष तारामणि सापकोटाले बताए ।
 पेशागत बीमा संघ बिर्तामोड (इन्स्युरेन्स प्रोफेसन सोसाइटी÷आइपीएस)को सहकार्यमा महासंघले पत्रकारको बीमा गरेको  हो ।
आइतबार पत्रकारको बीमाका लागि  पत्रकार महासंघ झापाका अध्यक्ष सापकोटा र उपाध्यक्ष एकराज गिरीले पेशागत बिमा संघ बिर्तामोडका अध्यक्ष सन्तोष उप्रेतीलाई ८० पत्रकारको विवरणसहित रकम प्रदान गरेका थिए ।
बीमा एक लाख रुपैयाँको हुने बताइएको छ । बीमा गरिएका पत्रकारमा कोरोना संक्रमण देखिए एक लाख रुपैयाँ बीमा कम्पनीले उपलब्ध गराउने छ ।
दोस्रो चरणमा पत्रकार महासंघका अन्य सदस्य र जिल्लामा क्रियाशील पत्रकारको समेत बीमा गरिने बताइएको छ ।
पत्रकार सहारा उपचार कोषमा हालसम्म १०१ जना सदस्य छन् भने एक जनाको मृत्यु भएको छ । केही सदस्यको स्थानीय सरकार, सञ्चार गृह र संस्थाले बीमा गराएका छन् । जनही ३००० शुल्क बुझाएपछि पत्रकार महासंघ झापाका सदस्यले पत्रकार सहारा उपचार कोषको सदस्य बन्ने प्रावधान छ । एक करोड रुपैयाको कोष बनाउने लक्ष्यका साथ स्थाजना गरिएको पत्रकार सहारा उपचार कोषमा हाल ४५ लाख रुपैया जम्मा भएको कोषका संयोजक तथा महासंघका उपाध्यक्ष गिरीले बताए । कोषको ब्याजबाट पत्रकारलाई उपचारमा सहयोग गरिदै आएको छ ।